राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारण रवीन्द्र मिश्रलाई हिरासतमा राखिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘करिब दुई महिनादेखि रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुलाई विचारकै कारण, राजसंस्था मान्छु, हिन्दूराष्ट्र मान्छु र संघीयता मान्दिनँ भनेकै कारणले अपमानपूर्वक प्रहरी खोरमा राखिएको छ । आज फेरि राप्रपाका युवासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्षलाई साईबर ब्यूरोले पक्राउ गरेको सन्देश आएको छ। यसरी आस्थाकै कारण एकपछि अर्को मान्छेलाई अनेक बहानामा पक्राउ गर्दै लैजाने हो भने यसरी निषेध गरेर लाने हो भने हामी विद्रोहमा जाउँ ।’
उनले अहिले प्रजातान्त्रिक अधिकारविरुद्ध कदम चालिएको भन्दै विरोध गरे । उनले सुजित केसीलाई अविलम्ब रिहाई गर्न पनि सरकारसमक्ष माग गरे ।