स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

Date: 2025-05-21
news-banner
 स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्त्वपूर्ण देखिएको उल्लेख गरे । मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गरे ।मन्त्री पौडेलले यसका लागि सदस्यहरुबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे । मन्त्री प्रदीप पौडेलले नेपालले मातृ शिशु मृत्युदर न्यूनीकरणमा तथा पोलियो उन्मुलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।

नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै पोलियो उन्मुलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको उल्लेख गरेका छन् । नेपालले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलले उल्लेख गरे ।नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाइसराइ तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे ।


Leave Your Comments