काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । यो आदेशसँगै अब पाण्डे पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो ।
पाण्डेले आफूलाई निलम्बन गरेको भन्दै जेठ २५ गते नै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा दुबै पक्षलाई छलफल गर्न अदालतले बुधबार बोलाएको थियाे ।