संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ ।हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने र प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद्हरुको मनोनयन गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्नेछन् ।