राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
शुक्रवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताउनुभयो । उहाँले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्वपूर्ण अर्थ राख्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन । एउटा कुरा उपयुक्त हो । मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसावकिताव रहनै पर्छ । तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्नसक्छौँ ।’
अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताउनुभयो । अहिले पनि केन्द्रिकृत शासन प्रणालीको मानसिकता हावी रहेको बताउनु भयो ।