नारायणघाट-बुटवल सडकखण्ड रातको समयमा बन्द हुने

Date: 2025-04-15
news-banner

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सोमबार रातीदेखि रातको समयमा राजमार्ग बन्द गरी सडक बिस्तारको काम सुरु गरिएको छ ।

नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा गएराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उहाँले बताउनुभयो । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको खनालले जानकारी दिनुभयो । 

नारायणघाट-बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ ।


Leave Your Comments