रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ ।
मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ । नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको नरिवलसमात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।

थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोलिपल्ट बिहान महिलाहरुले रथ तान्ने परम्परा छ । नरिवल खसाल्ने जात्रा सकिएको केहि दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ ।