खेल क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले पहिलो पटक स्पोर्टस् अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई अवार्ड प्रदान गर्न लागिएको हो ।
जेठ ४ गते साँझ प्रदेश राजधानी हेटौँडा स्थित हुप्रचौरमा हुने प्रथम बागमती प्रदेश स्पोट्र्स अवार्ड २०८२ को मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नुहुने बताइएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक युवा खेलाडीको प्रोत्साहनका लागि स्पोर्टस् अवार्ड प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।
अवार्ड कार्यक्रमले युवाहरूमा खेलकुदप्रति उत्साह अझै बढ्ने उहाँको विश्वास छ । पछिल्लो समय खेलाडीहरू खेल क्षेत्रबाटै पलायन हुँदै गएकोमा समेत उहाँले चिन्ता व्यक्त गर्नुभयो । खेलाडीहरूलाई स्वदेशमै खेल खेलेर जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण गर्न मन्त्रालय, खेलकुद परिषद् लागिपरेको मन्त्री महर्जनले बताउनुभयो । अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउने खेलाडी नै भएकोले उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाई छ ।
दीपक श्रेष्ठको संयोजकत्वमा गठन गरिएको ३ सदस्यीय प्राविधिक उपसमितिको सिफारिसका आधारमा ८ विधाका १२ जनालाई अवार्ड प्रदान गरिने छ । जसमा उत्कृष्ट महिला÷पुरुष खेलाडी, प्रशिक्षक, लाइफ टाइम एचिभमेन्ट, लोकप्रिय खेलाडी र पत्रकारिता क्षेत्र समावेश रहेका छन् ।
उत्कृष्ट महिला÷पुरुष खेलाडी, लाइफ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही एक लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार प्रदान गरिने मन्त्रालयका निमित्त सचिव सूर्य बहादुर दाहालले बताउनुभयो । अवार्ड कार्यक्रमका विभिन्न कालाकारहरूको प्रस्तुति समेत रहने बताइएको छ ।