नुवाकोटको पृथ्वी सङ्ग्रहालय तोडफोड

Date: 2025-05-20
news-banner

ऐतिहासिक नुवाकोटको टाकुरोमा रहेको पृथ्वी सङ्ग्रहालय तोडफोड भएको छ । सङ्ग्रहालय सञ्चालनमा नआउँदै सो सङ्ग्रहालयको मूल ढोकामा तोडफोड भएको हो ।

विदुर नगरपालिकाको स्वामित्वमा रहेको विदुर–२ नुवाकोट टाकुरोस्थित निर्माण सम्पन्न भएको र सञ्चालनको तयारीमा रहेको पृथ्वी सङ्ग्रहालयको मूल ढोकामा तोडफोड भएको सोमवार पाइएको हो  । मूल ढोकाको तालाको कब्जा निकालेर ढोका फोरिएको पाइएको हो ।

सम्बन्धित निकायले छानबिन गर्न माग गरेको छ । उक्त सङ्ग्रहालय सञ्चालनको लागी विदुर नगरपालिकाले पहल गरिरहेको थियो ।

मेयर राजन श्रेष्ठले सङ्ग्रहालय सञ्चालनका लागि  आवश्यक तयारी, समन्वय तथा सरोकारवाला निकायहरूसँग सहकार्य भइरहेको जानकारी दिनुभयो  । सञ्चालन हुन बाँकी र  सर सामाग्री केही नराखिएकाले सङ्ग्रहालयको मूल ढोकामा तोडफोड भए पनि अन्य थप क्षति नोक्सानी भने नभएको निरीक्षणका क्रममा पाइएको छ ।

केही समय अगाडि निर्माण गरिएको ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ सञ्चालनमा ल्याउन मेयर राजन श्रेष्ठबाट विभिन्न सरोकारवाला पक्षहरूसँग सहकार्य गर्ने क्रममा पाटन सङ्ग्रहालयको संरचना डिजाइन गर्ने अस्ट्रियाका नागरिक र उहाँको साथमा नेपाली नागरिक भरत महर्जनबाट सङ्ग्रहालयको अध्ययनसमेत थालिएको थियो । सङ्ग्रहालय सञ्चालनमा ल्याएर त्यसको अल्पकालीन र दीर्घकालीन संरक्षण तथा प्रर्बद्धनका लागि सङ्ग्रहालयको प्राविधिकसहित विस्तृत अध्ययनको प्रबन्ध मिलाइएको छ ।

प्रतिवेदनको आधारमा सङ्ग्रहालयलाई जतिसक्दो छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य लिइएको विदुर नपाले जनाएको छ ।  सङ्ग्रहालय सञ्चालनार्थ अध्ययन थालिएको छ ।

उक्त सङ्ग्रहालय सात रोपनी जग्गामा कुल पाँच करोड २८ लाख रुपैयाँ निर्माण सम्पन्न भएको थियो ।

Leave Your Comments