रुसले शनिबार गरेको आक्रमणमा परेर आठ जनाको मृत्यु भएको छ ।
युक्रेनको पश्चिम ख्मेल्नेत्स्की क्षेत्रमा चार जनाको मृत्यु भएको भनिएको छ भने अन्य तीन जनाको किभ क्षेत्र र एक जनाको दक्षिण सहर माइक्लेभामा मृत्यु भएको बताइएको छ । रुसले आक्रमण सुरु गरेयता युक्रेनमा अहिलेसम्मकै सबैभन्दा भारी आक्रमण गरेको एक दिनपछि यो खबर आएको हो ।
आफ्नो रक्षा एकाइले शनिबार राति चार घण्टाको अवधिमा कयौँ रुसी क्षेत्रको आकाशबाट ९५ वटा युक्रेनी ड्रोन खसालेकाे र रोकेको रुसको रक्षा मन्त्रालयले भनेको छ । यस क्रममा कोही हताहत नभएको भनिएको छ । यी ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थलमा हवाई उडान रोक्न रुस बाध्य भएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेका थिए । यतिबेला मस्कोको कब्जामा युक्रेनको २० प्रतिशत भू-भाग छ । यसमा २०१४ मा उसले कब्जामा लिएको क्रिमियासमेत पर्दछ ।