निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५० भन्दा बढीले सेवा लिए
Date: 2025-05-26
ललितपुर, १२ जेठ : लियो क्लब अफ काठमाडौं एमरल्डको आयोजनामा तथा गोदावरी नगरपालिकाको सह–आयोजनामा गोदावरी–१३ स्थित सन्तानेश्वर विद्यालयमा आज निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सम्पन्न भएको छ।
स्वास्थ्य सेवा सुविधाबाट वञ्चित समुदायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दा, विद्यार्थी तथा अभिभावक गरी २५० भन्दा बढीले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि टङ्क धामीले गर्नुभएको छ । लियो क्लब अफ काठमाडौं एमरल्डका अध्यक्ष सरद श्रीवास्तवले शिविर सफल भएको घोषणा गर्दै आगामी दिनमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शिविरमा छाला रोग, कान–नाक–घाँटी, दन्त तथा सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । साथै, रक्तचाप, रक्तमा चिनीको मात्रा, रगत परीक्षण तथा जीवनावश्यक लक्षण जाँचसमेत गरिएको थियो ।शिविरमा आवश्यक औषधि तथा उपकरण अमरनाथ फार्मेसीले निःशुल्क उपलब्ध गराएको थियो ।
शिविरमा लियो क्लब अफ काठमाडौं विशालनगर, लियो क्लब अफ काठमाडौं ड्रीम, जयसीज गोदावरी, कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, लायन्स क्लब अफ काठमाडौं रामारोशन तथा सन्तानेश्वर विद्यालय मन्दिरको सहकार्य रहेको थियो ।स्वास्थ्यकर्मी, स्वयंसेवक तथा लियो सदस्यहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक क्लबले जनाएको छ ।