भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग राष्ट्रिय सभासम्म पुगेको छ ।
बुधबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे ।उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरिसकेको र त्यस प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे पनि प्रश्न उठिरहेको भन्दै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने धारणा राखे ।‘यो प्रकरणले मुलुकको अन्तर्राष्ट्रिय छवि खराब बनाएको छ,’ सांसद अछामीले भने, ‘दुई तिहाइको सरकार जनताप्रति जवाफदेही हुन नसकेको प्रमाण यही घटनाले देखाएको छ ।’
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदले उठाएको विषयप्रति सभाको ध्यानाकर्षण भएको जानकारी दिए ।प्रतिनिधिसभामा भने गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि सदन अवरुद्ध गरेका छन् । राष्ट्रिय सभाको बैठक भने सामान्यरूपमा सञ्चालन भएको छ ।भिजिट भिसाको नाममा नेपाली नागरिकलाई गलत तरिकाले विदेश पठाउने गिरोहसँग राज्य संयन्त्रका केही अंगको संलग्नता देखिएपछि यो विषय राजनीतिक तहमा पनि चुलिएको छ ।
विपक्षी दलहरूले गृहमन्त्रीमाथि नै शंका गर्दै उच्चस्तरीय छानबिन र राजनीतिक जवाफदेहिताको माग गरिरहेका छन् ।