नेपाल–भारत सीमावर्ती जैविक विविधता संरक्षण बैठक सम्पन्न

Date: 2025-06-04
news-banner
अर्चना झा / रासस

दार्चुला, खलङ्गा २१ जेष्ठ : नेपाल–भारत सीमावर्ती क्षेत्रको जैविक विविधता संरक्षण तथा अवैध वन्यजन्तु र बनजन्य स्रोतहरुको ओसारपसार नियन्त्रणका लागि खलङ्गा, दार्चुलामा एकदिने द्विपक्षीय बैठक सम्पन्न भएको छ।

पशुपंक्षी तथा वन्यजन्तुको संरक्षण, सीमा क्षेत्रको अवैध काठ तथा जडीबुटी तस्करी न्यूनीकरण, र स्थानीयस्तरमा दुवै देशबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले भएको सो बैठक अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय, दार्चुलाको आयोजनामा तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहयोगमा सम्पन्न भएको हो ।

बैठकमा नेपालतर्फबाट डिभिजन वन कार्यालय डडेल्धुरा, बैतडी, दार्चुला तथा अपि नम्पा संरक्षण क्षेत्र अन्तर्गत टिङ्कर, ब्यास, छाङ्गरुङ, गुञ्जी खोला, दुम्लिङ  आदि क्षेत्रमा भइरहेका अवैध गतिविधिहरूको अवस्थाबारे प्रस्तुति भएको छ । यस्तै, भारतको उत्तराखण्ड राज्य अन्तर्गत पिथौरागढ डिभिजन वन कार्यालयका प्रमुख आशुतोष सिहंले भारत पक्षको तर्फबाट वन्यजन्तु संरक्षण, व्यवस्थापन तथा सीमावर्ती समस्याहरूमा आधारित प्रस्तुति प्रस्तुत गर्नुभएको छ।

अपि नम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनय कुमार झाले, यस सिमावर्ती बैठकले जैविक विविधता संरक्षणमा नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बताउनुभयो ।झाले उच्च पहाडी क्षेत्रका जैविक विविधता, चरन क्षेत्र र दाउराघास उपयोग, तथा जलवायु परिवर्तनका कारण वन्यजन्तु जानवरहरूको बसोबास क्षेत्रमा भइरहेको परिवर्तनबारे ल्याण्ड स्कोप प्रणालीमा आधारित विषयगत प्रस्तुति दिनुभएको छ ।

त्यसैगरी दुवै पक्षबाट छलफल भई विभिन्न विषयहरुमा हस्ताक्षर भएको छ :

१. दुवै देशको सहकार्यमा सीमावर्ती क्षेत्रका अवैध वनजन्य क्रियाकलाप नियन्त्रण तथा न्यूनीकरण ।

२. भविष्यमा सम्भावित जोखिमपूर्ण गतिविधि रोकथामका लागि समन्वय, सूचना आदानप्रदान र दुवै पक्षको सक्रिय सहभागिता सुनिश्चित गर्ने ।

३. अवैध जडीबुटी, काठ तथा अन्य बनजन्य तस्करी र अपराधमा संलग्न व्यक्तिसम्म पुग्न सक्ने संयन्त्र निर्माण गरी स्थानिय तहमै दुवै देशले संयुक्त प्रयास गर्ने ।

४. पिथौरागढ वन विभाग र सुदूरपश्चिम प्रदेशका संरक्षित क्षेत्र तथा वन कार्यालयमा कार्यरत अग्रपंक्तिका कर्मचारीहरूका लागि संयुक्त क्षमता अभिवृद्धि कार्यक्रम तथा प्रविधि हस्तान्तरण कार्यक्रमहरू सञ्चालन गरिने छ।

५. डिजिटल प्रविधिको प्रयोगद्वारा दुवै देशका संरक्षणकर्मी तथा निकायबीच सूचना प्रवाह तथा संवादलाई अझ नियमित बनाउनेमा जोड दिइएको छ। 

हस्ताक्षरकर्ताहरू:

अशुतोष सिंह, डिभिजनल वन अधिकृत, पिथौरागढ वन विभाग, उत्तराखण्ड, भारत बिनय कुमार झा  वार्डेन आपि–नाम्पा संरक्षण क्षेत्र, नेपाल भिम प्रसाद कँडेल, डिभिजनल वन अधिकृत, डिभिजन वन कार्यालय, डडेलधुरा, नेपाल
भरत प्रसाद भट्ट, डिभिजनल वन अधिकृत, डिभिजन वन कार्यालय, बैतडी, नेपाल रमेश कुमार यादव, कार्यवाहक वरिष्ठ संरक्षण अधिकृत, खप्तड राष्ट्रिय निकुञ्ज लक्ष्मी  जोशी, कार्यवाहक डिभिजनल वन अधिकृत, डिभिजन वन कार्यालय

दार्चुला नेपाल बैठकले आगामी दिनहरूमा यस्ता सिमावर्ती बैठकहरू नियमित रूपमा आयोजना गर्दै जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सीमावर्ती समन्वयलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षणका संरक्षण अधिकृत लक्ष्मी  राज जोशीले जानकारी दिनुभयो ।

तस्वीरहरु 

Leave Your Comments