दार्चुलाको खलङ्गामा ५३औं विश्व वातावरण दिवस मनाइयो
Date: 2025-06-05
अर्चना झा : रासस
दार्चुला, २२ जेठ : अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा ५३औं विश्व वातावरण दिवस दार्चुलाको सदरमुकाम खलङ्गामा विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। “प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको छ । उद्घाटन मन्तव्यका क्रममा उहाँले सन् १९७२ मा स्विडेनमा संयुक्त राष्ट्रसंघको सम्मेलनले वातावरण संरक्षणप्रति विश्वभर जनचेतना फैलाएको उल्लेख गर्नुभयो। त्यसकै निरन्तरतामा सन् १९७३ देखि हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस मनाउन थालिएको हो। उहाँले पृथ्वी र प्रकृतिलाई सबैको साझा सम्पत्ति बताउँदै वातावरण सन्तुलन र संरक्षण हाम्रै कर्तव्य भएकोमा जोड दिनुभयो।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका वार्डेन विनयकुमार झाले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्ने हक सुनिश्चित गरेको बताउँदै जनसंख्या वृद्धि, विकासका प्राथमिकता र बदलिँदो मानव व्यवहारले वातावरणमा पार्न थालेको नकारात्मक असरबारे चिन्ता व्यक्त गर्नुभयो।
उहाँले दीगो विकास र वातावरण संरक्षणका लागि सबै नागरिकले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
दिवसको अवसरमा खलङ्गा क्षेत्रमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि डस्टबिन राखिएको आयोजकले जानकारी दिइएको छ। साथै, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई व्यक्तित्व विकास तथा सिर्जनात्मक कलामा उत्कृष्ठ प्रस्तुति दिनेलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, बुद्धिजीवी, विद्यार्थी लगायत स्थानीय समुदायका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।