तीनकुने प्रकरण: दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

Date: 2025-06-18
news-banner

जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पेसागत कार्यअन्तर्गत उक्त भिडियो खिचेको ठहर गर्दै उनलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएकाले पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश गरेको हो ।उक्त आन्दोलनका क्रममा दाहालले मुख्य आरोपी दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिचेका थिए । दाहाललाई राज्यविरुद्ध कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर भएको थियो ।

दाहालले खिचेका ती भिडियो र तस्बिर घटनाको अनुसन्धानका लागि पनि प्रयोग भएका थिए । दाहालले थुनछेक बहसका क्रममा आफू लुटपाट र आगजनीजस्ता समाजलाई आतङ्कित बनाउने कार्यमा सहभागी नभएको र समाचार सङ्कलनका क्रममा ती भिडियो आफ्नो च्यानलमार्फत प्रकाशन गरेको बताएका थिए ।

Leave Your Comments