सर्लाहीको बरहथवा नापी कार्यालयमा बिचौलियाको हालीमुहाली, सर्वसाधारण मारमा

Date: 2025-06-21
news-banner

सर्लाही, बरहथवा ।
सर्लाहीको बरहथवामा रहेको नापी कार्यालयमा सर्वसाधारण सेवाग्राहीले पैसा नदिई सेवा पाउन नसक्ने अवस्था रहेको खुलासा भएको छ। कार्यालयको निरीक्षण गर्दा सेवाग्राहीलाई सहज र निष्पक्ष सेवा दिनुपर्ने सरकारी कार्यालय आफैं बिचौलियाको नियन्त्रणमा चलेको पाइयो।

स्थानीय स्रोतका अनुसार कार्यालयमा 'काम चाहियो भने पैसा खुवाउनुपर्छ' भन्ने अवस्थाको सामान्यीकरण भएको छ। सेवाग्राहीका लागि नियुक्त कर्मचारी सुस्त र गैरजिम्मेवार देखिए भने कार्यालयमा बिचौलियाको हालीमुहाली अत्यधिक देखिएको छ।

बिहीबार कार्यालयमै पुग्दा बसबरिया गाउँपालिका–१ मानपुर निवासी दिनेश ठाकुर आफ्नो जग्गाको नक्सा निकाल्न आएका थिए। तर, कार्यालयका कर्मचारीहरूले उनीलाई विभिन्न बहाना बनाउँदै काम टारिरहेका थिए। अर्कोतर्फ, एउटै बिचौलियाले करिब ६ वटा फाइल हातमा बोकी ती सबै फाँटमा सहजै पुगेर काम गराइरहेका थिए।

बिचौलियासँग कार्यालयका विभिन्न फाँटमा पुग्ने, नक्सा निकाल्ने र सेवाग्राहीको काम गरिदिने जस्ता अधिकारजस्तै पहुँच रहेको देखिएको छ। अझ गम्भीर कुरा त, कर्मचारीहरूले यस्ता क्रियाकलापमा कुनै प्रतिकार नदेखाएको र बिचौलियाको कामलाई मौन समर्थन गरेको बुझिन्छ।

कार्यालय व्यवस्थापन कमजोर र कर्मचारीहरूको उत्तरदायित्वप्रति कमजोरीका कारण सर्वसाधारण नागरिकहरू अत्यन्त मारमा परिरहेका छन्। सरकारी सेवामा पहुँचलाई न्यायोचित र पारदर्शी बनाउन सम्बन्धित निकायको तत्काल ध्यान जानु आवश्यक छ।

Leave Your Comments