खैराटोलमा बाटो विस्तारका क्रममा झडप, प्रहरी निरीक्षकसहित तीन जना घाइते

Date: 2025-06-21
news-banner

सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा दुई पक्षबीच झडप भएको छ। झडपमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको थियो। झडप नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। घटनास्थलमा सशस्त्र प्रहरीको समेत उपस्थिति रहेको छ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार, बाटो विस्तारका क्रममा उत्पन्न विवादले झडपको रूप लिएपछि स्थानीयबीच आपसी झडप भएको थियो। त्यही क्रममा प्रहरी निरीक्षक गणेश नियन्त्रणमा लिन खोज्दा घाइते भएका हुन्। अन्य दुई स्थानीय पनि आपसी झडपमा परी घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

घटनास्थलमा अहिले पनि प्रहरी र स्थानीयको बाक्लो उपस्थिति रहेको छ। घटनासँग सम्बन्धित मुख्य आरोपित, पूर्व वडा अध्यक्ष लखिन्द्र महतो, झगडियाको घरबाट प्रहरीले नियन्त्रणमा लिएको छ। अझै पनि केही आरोपितहरू घरमै लुकेको हुनसक्ने आशङ्कामा सुरक्षाकर्मी उनीहरूलाई नियन्त्रणमा लिन तयारीमा छन्।

यसअघि बिहीबार बाटो विस्तारको क्रममा केही स्थानीय पुरुष तथा महिलाले मिलेर एक महिलामाथि दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उक्त विषयमा चासो थपिएको थियो। यही घटनालाई लिएर शनिबार विवाद चर्किएको र झडपको स्थिति सिर्जना भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हाल अवस्था नियन्त्रणमा आइसकेको र स्थिति सामान्य बनाउँदै लगिएको छ।

Leave Your Comments