सर्लाहीको बरहथवा नगरपालिका–१२, पुरैनिया स्थित मनुषमारा खोलामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा जोखिम मोलेर जिर्ण पुलमार्फत यात्रा गर्न बाध्य भएका छन्। नयाँरोड–मधुवनी हुलाकी सडकखण्ड अन्तर्गत नेपाल सरकार सडक विभागको ४ करोड ८८ लाख रुपैयाँको लागतमा सगुन निर्माण सेवा महेन्द्रनगरद्वारा २०७९ सालमै निर्माण सम्पन्न गरिएको उक्त पुल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।
पुल सञ्चालनमा अवरोधको मुख्य कारण निजी जमिन भएको बताइएको छ। पुलको उत्तरपट्टी पर्ने १७ धुर जमिन स्थानीय सत्यनारायण यादवको नाममा रहेको र सरकारको तर्फबाट मुआब्जा नपाएको भन्दै यादवले सडक ग्राभेल गर्न नदिएका कारण पुल सञ्चालन प्रभावित भएको हो।
आयोजनाका इन्जिनियर रञ्जित कुमार रायका अनुसार, "पुल निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ। दुबै छेउ ग्राभेल गरेर पिच गरिदिएपछि तत्काल पुल सञ्चालनमा ल्याउन सकिन्छ। तर, निजी जग्गाको मुआब्जा विवाद समाधान नभएसम्म काम अघि बढ्न सकेको छैन।" उनले मुआब्जा सम्बन्धी सम्पूर्ण कागजात सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताउँदै थपे, "स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक सहजीकरणका लागि आग्रह गरिएको भए पनि अहिलेसम्म ठोस पहल भएको छैन।"
हाल स्थानीयवासीहरू पुरानो र जिर्ण पुल प्रयोग गर्न बाध्य छन्, जुन जुनसुकै बेला भत्किने अवस्थामा पुगेको छ। यसले यात्रुहरूलाई दिनहुँ जोखिममा पारिरहेको छ।
बरहथवा–१२ का वडा अध्यक्ष रामजी रायले पनि पुल सञ्चालनमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, “पुल निर्माण गर्ने निकाय वा सम्बन्धित व्यक्ति आएपछि आवश्यक समन्वय र सहजीकरण गरिनेछ।”
स्थानियहरूले पनि सरकारी बेवास्ताले निर्माण सम्पन्न भइसकेको पूर्वाधार प्रयोगमा आउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले नयाँ पुल यथाशक्य चाँडो सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।