सर्लाहीको खैराटोलमा सडक विस्तारका क्रममा झडप, दुई प्रहरीसहित १० जना घाइते

Date: 2025-06-21
news-banner

सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान सडक विस्तारका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा दुई प्रहरीसहित १० जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेश र बरिष्ठ हवल्दार प्रमेश्वर राय यादवसहित अन्य आठ जना स्थानीय घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, झडप नियन्त्रणका क्रममा प्रहरी निरीक्षक गणेश र हवल्दार यादव घाइते भएका हुन् भने वडा नम्बर १४ का पूर्व वडा अध्यक्ष संजय महतो झगडा छुट्याउने क्रममा चोटग्रस्त भएका छन्। बाँकी सात जना स्थानीय आपसी झडपमा घाइते भएका हुन्।

घाइते हुनेहरूमा ५० वर्षीय टीका बहादुर कार्की, ५२ वर्षीय कुल बहादुर कार्की, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीया इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाहा, २८ वर्षीय अनिल कुशवाहा, र ३५ वर्षीय उमेश महतो रहेका छन्।

घाइतेमध्ये गम्भीर अवस्थाका टीका बहादुर कार्की र कुल बहादुर कार्कीलाई बरहथवा नगर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। दुई जना प्रहरीको नगर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना अचलगढ बलरा प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

सडक विस्तार र ढलानको कामका लागि चालू आर्थिक वर्षमा बरहथवा नगरपालिका–४ वडा कार्यालयले सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। स्थानीयका अनुसार, सडकको दुवै छेउ बराबरको जग्गा लिएर काम गर्नुपर्ने माग अस्वीकृत गर्दै केही समूहले जबर्जस्ती ढलान गर्न खोजेपछि झडपको स्थिति उत्पन्न भएको हो।

यसअघि शुक्रबार सडक विस्तारकै क्रममा केही पुरुष र महिलाहरूले मिलेर एक महिलामाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले थप चर्किएको थियो।

हाल घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने अवस्था सामान्य बन्दै गएको जनाइएको छ। प्रहरी प्रशासनले आगामी दिनमा यस्ता विवाद टार्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

Leave Your Comments