प्रेस चौतारी नेपाल ललितपुरले मनायो २६ औँ स्थापना दिवस
Date: 2025-07-11
सन्तोष दहाल, ललितपुर । नेकपा एमालेको जनवर्गीय प्रेस संगठन प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले आफ्नो स्थापनाको २६ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार एमाले ललितपुर जिल्ला पार्टी कार्यालय सातदोबाटोमा संगठनका केन्द्रिय अध्यक्ष गणेश पाण्डे सहितका केन्द्रिय पदाधिकारीहरु र पार्टी नेताहरुको भव्य उपस्थितिमा शुभकामना आदानप्रदान, सम्मान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको हो ।
२०५७ साल असार २७ गते ललितपुरमा प्रेस चौतारी नेपाल स्थापना भएकोमा शुक्रवार २६ औँ वार्षिकोत्सब मनाईएको संगठनका अध्यक्ष नवीन लुईँटेलले बताए । उनका अनुसार तत्कालीन समयमा चौतारीको संस्थापक अध्यक्षमा कपिल घिमीरे , सचिवमा रामकृष्ण हुँमागाई , सदस्यमा बद्रि संजेल लगायत रहेका थिए । वार्षिकोत्सब कार्यक्रममा संस्थापक अध्यक्ष कपिल घिमिरे पनि सहभागी थिए । उक्त कार्यक्रममा स्थापनाकालीन विगतको स्मरण गर्दै घिमिरेले आफू गोरखापत्रको मधुपर्कको सम्पादकको रुपमा कार्यरत रहँदा प्रगतिशील पत्रकारहरुको हकहितको लागि जिल्लामा प्रेस चौतारीको आवश्यकता महसुस गरी संगठन स्थापना गरिएको बताए । साथै २६ वर्षपछी पनि आफूलाई सम्झिएर विशेष कार्यक्रममा निम्तो गरेकोमा वर्तमान कार्यसमितीलाई घिमिरेले धन्यवाद ज्ञापन गरे ।
घिमिरेले तत्कालीन समयमा हालका शिक्षा मन्त्री रघुजी पन्त , तत्कालिन ललितपुर एमालेका प्रचार विभाग प्रमुख रमेश सिलवाल , पूर्व सांसद मिठ्ठाराम शर्मा लगायतको पहलमा ललितपुरमा चौतारी स्थापना भएकोसमेत स्मरण गरे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले ललितपुरमा पार्टीको प्रचार र हरेक तहका चुनावी अभियानहरुमा प्रेस चौतारीको भूमिका सम्मा गर्न लायक रहेको भन्दै सङ्ख्यात्मक रुपमा कम सदस्य रहेको भए पनि प्रेस चौतारी काम गर्ङ हिसाबमा अत्यन्तै अनुकरणीय रहेको चर्चा गरे । उनले चौतारीमा आबद्ध पत्रकारहरुलाई निर्भीक र निडर भएर पार्टीमाथी पछिल्लो समय भईरहेको प्रहारको विरुद्धमा कलम चलाउन समेत आग्रह गरेका छन् ।
चौतारीका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले २६ वर्ष पूरा गरेकोमा चौतारी ललितपुरलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले जिल्लाको चौतारीमा आबद्ध पत्रकारहरुलाई टिक्ने वातावरण बनाउन पार्टी र जिल्ला प्रचार विभागलाई आग्रह समेत गरे । साथै पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको बढ्दो अराजकताले को पत्रकार हो र को कन्टेन्ट क्रियटर हो भन्ने द्विविधा सिर्जना गरेको भन्दै पाण्डेले पार्टीको आधिकारिक लाईनको पक्षमा कलम चलाउन आग्रह गरे । उनले यस वर्षलाई चौतारीले प्रशिक्षण वर्षको रुपमा मनाईरहेकोले जिल्लामा पनि प्रशिक्षण, क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।
वार्षिकोत्सब कार्यक्रममा प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा ललितपुर जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्य, विभाग प्रमुख उपप्रमुख हरुलाई बधाई पत्रद्वारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा चौतारीका पदाधिकारी सहित एमाले केन्द्रिय सदस्य तथा ललितपुर इन्चार्ज हरिकृष्ण व्यन्जनकार, ३ नं क्षेत्रीय इन्चार्ज बाबुराम थापा, बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बाग्नती प्रदेशसभाका एमाले सचेतक मधुसूदन पौडेल, सांसद रघुनाथ महर्जन लगायत जिल्ला र प्रदेश तहका नेताहरुको उपस्थिति रहेको थियो ।